फाइल तस्वीर
काठमाडौं– नेकपा (एमाले)को स्थायी कमिटी बैठक सरेको छ।
मंगलबार विहान ११ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको हो।
नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बैठक तीन बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने जानकारी दिए।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलका लागि पुगेका 'मध्यमार्गी' नेताहरुसँगको छलफलपछि आजको लागि बैठक तय भएको थियो। बैठकमा मध्यमार्गी धारमा रहेका नेताहरु पनि सहभागी हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए। माधव नेपाल भने पार्टी विभाजनको बाटो हिँडिसकेकाले उनी नआउने आशय ज्ञवालीको थियो।
'आजको बैठकमा सबै कमरेडहरु उपस्थित हुनुहुनेछ। त्यहाँबाट पार्टीलाई थप सुदृढ बनाउने निर्णय गर्नेछ,' उनले भने।विभाजनमा नगएकाहरुलाई रोक्नका लागि सो बैठकले आह्वान गर्ने उनको भनाइ छ।
सोमबारको छलफलमा यसअघि एमाले विवाद समाधान गर्न गठिन कार्यदलले तय गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने समझदारी भएको थियो।
नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएपछि केही नेता ओली र नेपाल दुवैतिर खुलेका छैनन्।
उनीहरूले पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिँदै आएका छन् । पार्टी एकताका लागि ओली लचक हुनुपर्ने र नेपालले पनि नयाँ दल खोल्न नहुनेमा उनीहरूको जोड छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।