काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले विश्वासको मत लिँदा प्रमुख प्रतिपक्ष दल एमाले सदनमा उपस्थित नहुने भएको छ।
सोमबारको बैठकमा केसीले विश्वासको मत लिने कार्यसूचि बनेको छ। तर, एमाले सांसद उक्त बैठकमा उपस्थित नहुने भएका छन्।
एमाले सांसद बैजनाथ चौधरीले संसद बैठकको कार्यसूचिबारे सभामुखले छलफल नै नगरेको बताए। ‘हामीले बैठकमा राख्ने कुरा पहिलो बैठकमा राखिसक्यौं। सभामुखले बैठक रोक्दै बोलाउँदै गर्नुभएको छ।’ उनले भने, ‘किन बैठक रोकियो र किन बोलाइयो हामीलाई थाहा छैन। विना छलफल बोलाएको बैठकमा हामी सहभागी हुँदैनौं।’ दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेले सदन अवरुद्ध गर्दै आइरहेको छ।
प्रमुख प्रतिपक्ष सहभागी नभएको बैठकबाट सत्ता पक्षका सांसदले मुख्यमन्त्री केसीलाई विश्वासको मत दिने भएका छन्। साउन २८ मा केसी मुख्यमन्त्री बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।