काठमाडौं– नेकपा एमालेको संस्थापन पक्ष र माधव नेपाल छाडेका ९ जना स्थायी कमिटी सदस्यबीच पार्टी संरचनालाई २०७५ जेठ २ मै फर्काउने सहमति भएको छ।
अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली र माधव छाडेका स्थायी कमिटी सदस्यहरुबीच सोमबार दिउँसो भएको छलफलमा मंगलबारलाई बोलाइएको स्थायी कमिटीको बैठक २०७५ जेठ २ पूर्वको पार्टी संरचनाअनुसार हुने बताइएको हो।
एमालेका वरिष्ठ नेता नेपालले दर्ता गरेको पार्टीमा नलागेका र फर्किन चाहनेलाई जेठ २ पूर्वकै जिम्मेवारीमा फर्काउने सहमति भएको पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिए। उनले भने, ‘१० बुँदे सहमति व्यवहारिक रुपमै कार्यान्वयन गर्ने सहमति भएको छ। त्यसैले सवै साथीहरु पूर्ववत् जिम्मेवारी दिइने बाचा अध्यक्षज्यूले गर्नुभएको छ।’
छलफलमा सहभागी एमाले सचिव योगेश भट्टराईले केन्द्रदेखि वडातहसम्मका कमिटीहरुको संरचना जेठ २ अघि फर्किएको बताए। उनले भने, ‘अध्यक्ष कमरेड र हामीबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको छ। अध्यक्षज्यूले जुन–जुन नेताहरुको जिम्मेवारी जे छ, त्यसैमा फर्काइएको बताउनुभएको छ।’
उनले आफूहरुबीच उक्त सहमति कार्यान्वयनका लागि निश्चित मोडालिटी तय गर्ने सहमति भएको पनि बताए। त्यो मंगलबार बस्ने स्थायी कमिटीले निर्माण गर्ने उनको भनाइ छ।
विभाजनमा गइसकेकालाई फर्काएर थपना भने गर्न नसकिने उनको भनाइ छ। उनले गत साउन १ गते बसेको स्थायी कमिटी बैठक जेठ ३ पूर्वको भएपनि अर्को पक्षका स्थायी कमिटी सदस्य सहभागी नभएकाले मंगलबारदेखि सहमति कार्यान्वयन भएको मानिने बताए।
छलफलमा नेपाल अलग्गै बाटोबाट हिँड्न संकल्पित देखिएकाले फर्केर नआउने निष्कर्ष निस्किएको ज्ञवालीले बताए।
उनले भने, ‘उहाँले विभाजनको बाटो रोजिसक्नुभएको छ। उहाँको बाटोमा अरु नजाउन् भन्नका लागि, गलत छ भन्नका लागि हामीले सहमति गरेका हौं।’
सचिव भट्ट्राईले भने नेपाललगायत विभाजनमा गएका नेताहरुलाई पार्टीमा सामेल हुनका लागि मंगलबारको बैठकबाट आव्हान गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।