काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले कसैलाई पनि विभाजन पक्षमा नजान आह्वान गरेका छन्। सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलपछि प्रतिक्रिया दिँदै उनले पार्टीमा फर्किएमा कसैमाथि अन्याय नहुने बताए।
'म यहाँमार्फत भन्न चाहन्छु। देशभरका नेकपा एमालेका सम्पूर्ण कमरेडहरुलाई, हामी कोही पनि विभाजनको पक्षमा नजाऔं। एकताको पक्षमै कायम होऊँ,' भट्टराईले भने।
धीरताका साथ उत्तेजनामा नआइकन धैर्यधारण गर्दै पार्टी एकताको ऐतिहासिक प्रक्रियामा सामेल हुन उनको आग्रह थियो।
'अध्यक्ष कमरेडको पनि त्यो प्रतिबद्धता छ। त्यस अनुसार म सबै कमरेडहरुलाई धैर्यताका साथ धेरै उत्तेजनामा नआइकन, आवेगमा नआइकन धैर्यधारण पार्टी एकताको ऐतिहासक प्रक्रियामा सामेल हुन म तपाईंहरुमार्फत अपिल गर्छु,' भट्टराईले भने।
उनले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किने बताए। 'त्यो कसरी हुन्छ भन्ने कुरा भोलिको बैठकबाट टुंग्याउँछौं', उनले भने। 'हाम्रा पुराना जिम्मेवारीहरु कायम हुनेछन्। र पार्टीभित्र कसैमाथि पनि पक्षपात हुँदैन। कसैमाथि पनि अन्यायपूर्ण व्यवहार हुँदैन भन्ने कुराको सुनिश्चितता पार्टी स्थायी कमिटीले गर्छ,' उनले भने।
असार २७ गते भएको १० बुँदे सहमतिको कार्यान्वयनको सन्दर्भमा मंगलबारको बैठकले योजना तयार गर्ने उनको भनाइ छ। मंगलबारको बैठकले नयाँ पार्टी गठनको प्रक्रियामा अघि बढेका नेताहरुलाई फिर्ता आउनको लागि आह्वान गर्ने पनि उनको भनाइ थियो।
आफूहरुले पार्टीभित्र संघर्ष गर्ने कुरामा साथ दिने भने पनि विभाजनको प्रक्रियामा साथ नदिने भनेर नेता माधवकुमार नेपाललाई पहिल्यै स्पष्ट पारिसकेको पनि भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।