काठमाडौं- लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका छन्। यसअघिका बैठक पनि अवरोध गर्दै आएको एमालेले सोमबारको बैठक पनि अवरोध गरेको हो।
बैठकको सुरुमै समय लिएर बोलेका एमालेका कुलप्रसाद पोखरेलले नेकपा एमालेले अजय शाही र विमला वलीलाई पदमुक्त गर्न प्रदेश सभा संसद् सचिवालयमा पत्र दर्ता गरेकोमा विषयलाई अलमल्याउने र गर्नै नखोज्ने भएबाट आफूहरु आन्दोलित भएको बताए। 'अबिलम्ब कारबाही किनारा लगाइयोस्,' उनले भने।
एमालेका सांसदहरुले सभामुखलाई कुर्सीको मर्यादा कायम गर्न भनेका थिए। साथै दलीय मर्यादा कायम गर, प्रदेश सभामा दलीय प्रभाव अन्त्य गर लगायतका नारा लगाइएको थियो।
केही बेरको नाराबाजीपछि सभामुखले माओवादी केन्द्रका तुलाराम घर्तीलाई समय दिएका थिए। त्यसपछि उनी बोल्न थालेका थिए। उनले विमला वली आफ्नै दलका सांसद भएको बताउँदै उनलाई एमालेले हटाउन नसक्ने बताए। 'विपक्षी दलले उठाएको कुरामा म गम्भीर आपत्ति प्रकट गर्न चाहन्छु,' उनले भने।
त्यसपछि एमालेका सांसदहरुले झन् चर्कोगरी नाराबाजी लगाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।