काठमाडौं- नेकपा (एमाले) विभाजनमा संलग्न नरहेका एकता पक्षधर स्थायी कमिटीका सदस्यहरुसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गरिरहेका छन्। ओलीनिवास बालकोटमा बिहानैदेखि छलफल जारी छ।
पहिले भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका मध्यमार्गी धारका नेताहरूसँग छलफल गरेका ओलीले अहिले आफूनिकट नेता प्रदीप ज्ञवालीलाई पनि छलफलमा राखेका छन्। ‘वार्ता सकारात्मक’ भएपछि ज्ञवालीलाई पनि ओलीले छलफलमा बोलाएका हुन्।
छलफलमा सहभागी अष्टलक्ष्मी शाक्य भने बालकोटबाट बाहिरिएकी छन्।
यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेर पनि नयाँ पार्टी निर्माणमा संलग्न नरहेका नेताहरु निर्णायक छलफलका लागि बालकोट पुगेको र अहिले वार्ता जारी रहेकाे एमाले नेता सुवास नेम्वाङले बताए।
नेताहरु १० बुँदे कार्यान्वयनको विषयमा छलफल गर्न बालकोट पुगेको नेम्वाङको भनाइ छ। ती नेताहरूसँग सहमति भएको खण्डमा आजै एमालेको स्थायी कमिटी बैठक बोलाउने तयारी छ।
माधवकुमार नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सो समूहबाट अलग भएका उनीहरुले यसबीचमा एकता पक्षधर केन्द्रीय सदस्य र सांसदहरुको भेला राखेर १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई अल्टिमेटम दिएका थिए।
उनीहरूले १० बुँदे माग कार्यान्वयन गर्न माग गर्नेछन्। आज बेलुकीसम्म प्रक्रिया नथाले बिद्रोह गर्ने उनीहरूको चेतावनी छ। १० बुँदे कार्यान्वयन हुँदा नेकपा एकतासँगै एमालेमा मिसिएका कमिटी र नेताहरुसहितको बैठक बस्ने बताइएको छ।
यो समूहमा स्थायी कमिटी, केन्द्रीय कमिटी र सांसद गरि ५७ जना छन्। उनीहरूले यसअघि आफूपक्षीय भेला गरेर १० बुँदे सहमति कार्यान्वयनलाई बटमलाइन बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।