काठमाडौं- उपचारका लागि नयाँ दिल्लीमा रहेका एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफूलाई नेकपा (एकीकृत समाजवादी) को पक्षमा उभ्याइसकेका छन्। गत शुक्रबार उनको फेसबुक पेजमा उनी एकीकृत समाजवादी पार्टीको पक्षमा रहेको सूचना सार्वजनिक भएको थियो।
'भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं', उनको सचिवालयद्वारा जारी सूचनामा भनिएको थियो।
उनी तत्काल स्वदेश फर्किने कार्यक्रम छैन। तर, एकीकृत समाजवादीमा लाग्नेहरुलाई सनाखतका लागि निर्वाचन आयोगले भदौ ९ गते आउन भनेको छ। सनाखतका लागि भने आयोगमा भौतिक रुपमा उपस्थिति हुनुपर्ने आशय नियमावलीमा पाइन्छ। तर, खनालको भौतिक उपस्थिति सम्भव देखिँदैन।
के उनले अन्य उपाय अपनाएर आफ्नो पक्षधरता स्पष्ट पार्न सक्छन्?
यस्तो परिस्थितिबारे ऐन, अध्यादेश वा नियमावलीहरुमा पनि केही उल्लेख नभएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठको भनाइ छ।
'यस विषयमा के गर्ने भन्ने कुरा आयुक्तहरुको बैठकले जे निर्णय गर्छ त्यही होला। अहिले नै यस्तो हुन्छ भनेर मैले भन्ने अवस्था रहेन', उनले भने।
हालै जारी गरिएको राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य पुर्याउनुपर्ने हुन्छ। माधव नेपालको नेतृत्वमा प्रस्तावित गरिएको एकीकृत समाजवादी पार्टीमा एमालेका ५८ जना केन्द्रीय सदस्य र ३१ जना सांसद् रहेको भनिएको छ। सनाखतका क्रममा त्यो संख्या घट्न वा बढ्न सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।