काठमाडौं- बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’ फिल्म हलहरुमा चलिरहेको छ।
कोरोना महामारीका कारण लामो समय बन्द अवस्थामा रहेका हलहरु सञ्चालनमा आएसँगै उनको फिल्म चलेको हो। लामो समय फिल्महलमा गएर हेर्न नपाएका दर्शकहरुको चापाचाप हलहरुमा हुने अनुमान गरिएपनि त्यसो नभएको भारतीय सञ्चारमाध्महरुले जनाएका छन्।
अक्षय कुमारको फिल्म हलमा रिलिज भएपनि यसको कमाइ औसतरुपमा अघि बढिरहेको फिल्म समीक्षकहरुले बताएका छन्। अझै हलहरुमा दर्शक आउन समय लाग्ने उनीहरुको अनुमान छ।
बलिउड हंगामा अनुसार अक्षयको फिल्म बेलबटम रिलिज भएको तीन दिनमा उक्त फिल्मले १२.६५ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।
रक्षाबन्धनको दिनमात्र फिल्मले ४.४० करोडको कमाइ गरेको जनाइएको छ। यसअघि दैनिक ४.२० कमाइ गरेकोमा रक्षाबन्धनको दिन कमाइ बढेको हो।
अब आज फिल्मले गर्ने कमाइले उक्त फिल्मको कुल कमाइको अनुमान गर्न सकिने बताइएको छ।
अक्षयको फिल्म केही देशमा प्रतिबन्धित भएका कारण पनि यसको कमाइमा कमी आउने विश्लेषकहरु बताउँछन्। साउदी अरब, कुवेत र कतारका फिल्म सेन्सर बोर्डले बेलबटमको प्रदर्शनमाथि रोक लगाएका हुन्। सेन्सर बोर्ड अफ यूएईले फिल्ममा तीन देशको छविलाई नकारात्मक रुपमा प्रस्तुत गरिएको आरोप लगाउँदै फिल्म चल्न नदिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।