काठमाडौं– नेकपा माओवादी केन्द्रले ५ वटा प्रदेशका इञ्चार्ज तोकेको छ। शनिबारदेखि बसेको स्थायी समिति बैठकले सातै प्रदेश र ७७ वटै जिल्लाका इञ्चार्ज तोक्ने निर्णय गरेको हो।
स्थायी समितिको बैठकले सबै प्रदेश र जिल्लाका इञ्चार्ज तोक्ने निर्णय गरे पनि प्रदेश २ र सुदूरपश्चिम प्रदेशका इञ्चार्जको जिम्मेवारी कुन नेतालाई दिने भन्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले 'फाइनल' गर्ने छन्।
स्थायी समिति सदस्य वर्षमान पुनका अनुसार प्रदेश १ र सुदूरपश्चिमको इञ्चार्जको लागि २–२ गरी ४ नेताको नाम अगाडि आएको छ। प्रदेश १ मा सुरेन्द्र (राम) कार्की र सावित्रीकुमार काफ्ले तथा सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट र लक्ष्मीदत्त जोशीको इञ्चार्जमा दाबेदारी छ।
बाँकी ५ प्रदेशका इञ्चार्जहरुको नाम भने टुंग्याइसकिएको छ। प्रदेश २ मा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल र कर्णाली प्रदेशमा शक्तिबहादुर बस्नेतलाई इञ्चार्ज तोकिएको नेता पुनले जानकारी दिए।
प्रदेश १ र सुदूरपश्चिम प्रदेशका ४ नेताहरुसँग प्रचण्डले छलफल गर्ने र त्यसपछि मात्रै प्रत्यासीमध्ये १–१ जना नेतालाई इञ्चार्ज तोकिने छ।
‘७७ जिल्लाका इञ्चार्ज पार्टी विभाग प्रमुख र प्रदेश पदाधिकारी टुंगिएको छ,’ नेपाल लाइभसँग कुरा गर्दै पुनले भने,‘सबै निर्णयबारे जानकारी दिन पार्टी कार्यालयले प्रेस विज्ञिप्ति जारी गर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।