काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने सम्भावना कम रहेको ब्रिफिङ गरेका छन्। माधव नेपाल छाडेको ८ जना सांसदहरूको भेलामा पुगेका रावलले फोनमा संवाद भइरहेको बताउँदै यस्तो ब्रिफिङ गरेका हुन्।
उक्त भेलामा रहेको एक सांसदकाअनुसार रावललगायत केही नेपाललाई ‘छाडेका’ स्थायी कमिटी नेताहरुले भेटवार्ताका लागि समय लिएका थिए। तर, ओली निकटस्थहरुको बैठकमा रहेका कारण फोनमा मात्रै संवाद भएको हो।
फोन संवादका क्रममा रावललगायतले १० बुँदे सहमति कार्यान्वयन गरेर एकताका लागि हात अघि बढाउन आग्रह गरेका थिए। रावलको भनाइलाई उदृत गर्दै ती सांसदले भने, ‘हामीले फोनमै कुरा हुँदा एकता प्रक्रिया अघि बढाउन आग्रह गरेका हौं। तर, उहाँले त्यतातिर रुचि देखाएको जस्तो गर्नुभएन।’
केही दिनअघि नेपाललाई ‘छाडेका’ स्थायी कमिटी, केन्द्रीय सदस्य र सांसदहरुले छुट्टाछुट्टै भेला गरेर १० बुँदे कार्यान्वयनको माग गरेका छन्। लिखित वक्तव्य समेत जारी गरेका उनीहरुले हालसम्म गरिएको निर्णय खारेज गर्ने र १४ सांसदलगायत केही नेतालाई गरिएको कारबाही फिर्ता लिनुपर्ने माग राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।