एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, फाइल तस्वीर
काठमाडौं– लुम्बिनी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्ती सत्तारुढ दल माओवादी केन्द्रको कार्यकर्ताका रुपमा प्रस्तुत भएको आरोप लगाएको छ।
सभामुख घर्तीले २ जना प्रदेश सभा सदस्य (सांसद) अजयबहादुर शाही र विमला केसी (ओली)लाई 'कारबाही' गरेको भन्ने एमालेको सूचना सदनलाई जानकारी नदिने निर्णय गरेका थिए।
उक्त निर्णय सार्वजनिक भएपछि एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुख घर्ती माओवादी कार्यकर्ता बनेको आरोप लगाए। घर्तीले सभामुखको ओज र गरिमालाई बिर्सेर माओवादीको निर्णय मानेर बस्ने काम गरेको ढकालको भनाइ छ।
‘सभामुख भनेको साझा पद हो । जुनसुकै पार्टीबाट निर्वाचित भए पनि सभामुख बन्ने क्रममा त्यो पार्टीबाट राजीनामा दिएर स्वतन्त्र हुनु पर्छ। सपथ लिने बेलामा सिंगो प्रदेश सभाको अभिभावक हुने छु भनिन्छ । संविधान र प्रदेश सभा नियमावलीले पनि सभामुख स्वतन्त्र हुने व्यवस्था गरेको छ,' नेपाल लाइभसंग कुरा गर्दै ढकालले भने, ‘सभामुखले पदीय मर्यादा कायम राख्न सक्नुभएन। उहाँले नेकपा माओवादी केन्द्रको कार्यकर्ता जस्तो व्यवहार देखाउनुभयो। माओवादीको निर्णय लागू गराउने काम गर्नुभयो । त्यसप्रति घोर आपत्ति र भर्त्सना छ।’
राजनीतिक दलसम्बन्धी ऐनभन्दा बाहिर गएर माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई मुख्यमन्त्रीमा समर्थन गरेको भन्दै एमालेले शाही र ओलीलाई कारबाही गरेको भन्दै संसद सचिवालयमा पत्र दर्ता गराएको थियो।
सांसद शाही २०७४ सालको निर्वाचतमा सूर्य चुनाव चिह्न लिएर स्वतन्त्र सांसदको हैसियतमा निर्वाचित भएका थिए भने ओली तत्कालीन नेकपाबाट निर्वाचित भएकी थिइन्।
शाही र ओली आफ्नो दलको सांसद भएको, तर विपक्षी नेतालाई मुख्यमन्त्रीमा समर्थन गरेको भन्दै एमालेले कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो। कारबाही गरिएको पत्र दर्ता गराउँदा पनि दुवै जनालाई पदमुक्त नगरिएको भन्दै एमालेले प्रदेश सभा बैठक समेत अवरुद्ध पार्दै आएको थियो।
तर, सभामुख घर्तीले भने एमालेले कारबाही गरेको सूचनाबारे सदनमा जानकारी दिन नसकिने निर्णय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।