काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेद्वारीबाट पछि नहट्ने बताएका छन्।
शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितिले आयोजना गरेको एक दिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफू सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताएका हुन्।
आमजनताको दु:खमा मलमपट्टी लगाउनको लागि भएपनि आफू कांग्रेस सभापति बन्नु पर्ने उनले बताए।
‘आम जनताको दु:खमा मलमपट्टी लगाउनको लागि भएपनि म कांग्रेसको सभापति बन्नु पर्छ,’ सिंहले भने, ‘सबैलाई मिलाउन सक्ने क्षमता छ। पार्टी सञ्चालन गर्नसक्ने क्षमता छ। म किन पार्टी सभापति नबन्ने ? त्यसैले सभापतिको उम्मेदवारीबाट पछि हट्दिनँ। ’
साथै, सिंहले १३औं महाधिवेशन पछि अहिले कांग्रेस इतिहासकै कमजोर अवस्थाम पुगेको बताए। नेतृत्व गलत भएपछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गरे सरह हुने टिप्पणी गरे।
यस्तै, उनले कम्युनिष्टहरुले कांग्रेसलाई सहयोगी पार्टीको रुपमा प्रयोग गर्न खोजेको बताए। जनता र देशलाई संकट पर्दा आफ्नो पार्टीले नै साथ दिने भन्दै कांग्रेस जनताको पार्टी भएको उनले दाबीसमेत गरे।
साथै, केही व्यक्तिहरुले आफ्नो स्वार्थका लागि क्रियाशिल सदस्यता वितरणमा अनिमितता गर्दा वर्षौदेखि पार्टीमा संघर्ष गरेका नेता कार्यकर्ता निराश भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।