काठमाडौं- अखिल नेपाल टेबलटेनिस संघले कतारमा हुने २५औं एसियाली टेबल टेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने छनोट प्रतियोगिताबाट समान ३/३ पुरुष महिला खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले जनाएका छन्।
पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, काठमाडौंका अमरलाल मल्ल र प्रहरीका स्यान्टु श्रेष्ठ छनोट भए। वैकल्पिकमा एभीएम टेबल टेनिस क्लबका संयोग कपाली र विलोश श्रेष्ठ रहेका छन्।
महिलामा एपीएफकी सिक्का सुवाल, एभीएमकी इभाना थापा मगर र प्रहरीकी एलिना महर्जन छानिए। वैकल्पिकमा नेपाल आर्मीकी रविना महर्जन र एभीएमकी वियंका राई छन्।
छनोटमा समान ९/९ पुरुष/महिला खेलाडीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए। एसियाली टेबल टेनिस प्रतियोगिता दोहामा असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।