काठमाडौं- संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीहरुले पदीय आचरणविपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरणविपरीत सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।
सर्वोत्तम सिमेन्टको सेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले परिवारका सदस्यहरुको नाममा खरिद गरेर पदीय आचारणविपरीत काम गरेको भन्दै चर्को आलोचना भइरहेका बेला समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराएको हो।
नियामक निकाय आफैंले पदीय मर्यादाविपरीत सेयर कारोबार गरेकाले तत्काल छानबिन गरी उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए। उनले भने, ‘नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुले भित्री सूचनाका आधारमा गरेको भनिएको सेयर कारोबारको सम्बन्धमा अर्थ मन्त्रालयबाट अध्ययन छानबिन भइरहेको जानकारी माननीय मन्त्रीज्यू र अर्थसचिवज्यूबाट प्राप्त भएको छ। उक्त छानबिन यथाशीघ्र सम्पन्न गरी आवश्यक कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ।’
बैठकले सेयर बजारको दिगो विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रको स्वच्छता, पारदर्शीता, सदाचारिता, नैतिकताका साथै जिम्मेवार र जवाफदेहीता प्रवर्द्धन गर्न नीतिगत, कानुनी र संरचनागत व्यवस्था गरी समितिलाई जानकारी गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
बैठकमा समितिका सदस्यहरुले पूँजी बजारको नियमक निकायलाई स्वच्छ, जवाफदेही, पारदर्शी र विश्वासयोग्य बनाउनेगरी कानुनी प्रबन्ध गर्न सरकारसँग माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।