काठमाडाैं– धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेञ्जका सीइओ चन्द्रसिंह साउदलाई पदमुक्त गर्न सांसदहरुले माग गरेका छन्। सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका ढुंगाना र साउदलाई बर्खास्त गरेर अनुसन्धान प्रक्रिया सुरु गर्न सांसदहरुको माग छ।
संघीय संसद अर्थसमितिका धारणा राख्ने सांसदहरुले सर्वोत्तमको सेयर खरिदमा मुछिएकालाई उन्मुक्ति दिन नहुने मत राखेका हुन्। नियामक निकायको सर्वोच्च पदमा रहेका उनीहरु पदमै रहेर अनुसन्धान गर्दा मुद्दा प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गरिएको हो।
अर्थ मन्त्रालयले उक्त प्रकरणमा ढुंगाना र साउदको संलग्नता देखिएको जनाएको थियो। अर्थमन्त्रालयको प्रारम्भिक अनुसन्धानले उनीहरु संलग्न भएको देखिएपछि पदमा राख्न उचित नहुने सांसदहरुको तर्क थियो।
समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, समिति सदस्यहरु रामकुमारी झाँक्री, मेटमणी चौधरी, कृष्णकुमार श्रेष्ठ, रामबाबु कुमार यादव लगायतले स्वार्थ बाझिने यस घटनाको मिहिन अनुसन्धान हुनुपर्ने बताए।
सांसद झाँक्रीले धितोपत्र बोर्ड अध्यक्ष र नेप्सेका सीइओले गोल्डेन सेयर पाएका वा किनेकोमा अनुसन्धान हुनुपर्ने बताइन्।
समितिले उक्त विषयमा छलफल गर्न अर्थमन्त्री जनार्दन शर्मालाई समेत निम्त्याएको थियो। मन्त्री शर्माले ढुंगाना र साउदको मुछिएको प्रकरणमा आन्तरिक अनुसन्धान भइरहेको समितिलाई जानकारी दिए। अनुसन्धानबाट दोषी देखिए कारबाही हुने उनले प्रष्टाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।