काठमाडौं– सर्वोत्तम सिमेन्टकाे सेयर खरीद प्रकरणको छानविन गर्न कमिटी गठन गराई प्रक्रिया अगाडि बढाइएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। छानबिन समितिले दिने निष्कर्षका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले छोरीको नाममा सेयर किनेपछि अर्थमन्त्रालयले व्यक्तिगत रुपमा स्पष्टीकरण माग गरेको हो। यसअघि बोर्डसँग स्पष्टीकरण माग गरिएको थियो।
संघीय सांसदको अर्थ समितिका सहभागी मन्त्री शर्माले समितिको सिफारिसका आधारमा कारबाही गरिने बताए।
सर्वोत्तम सिमेन्ट प्रकरणमा नियमनकारी निकायका प्रमुखले आफ्नै परिवारका सदस्यको नाममा सेयर कारोबार भएको खबर सार्वजनिक भएसँगै मन्त्रालयले चासो दिएको र त्यस सम्बन्धमा यथार्थ बुझ्न धितोपत्र बोर्डमा पत्राचार गरिएको उनले बताए।
बोर्डबाट प्राप्त संस्थागत जवाफले पनि नपुग्ने भएपछि मन्त्रीस्तरीय निर्णयबाट छानबिन कमिटी गठन भएर प्रक्रिया अगाडि बढेको उनको भनाइ छ।
अर्थ मन्त्रालय सधैं लगानीकर्ताको हितमा रहने मन्त्री शर्माले बताए। पछिल्लो समय नेपालको पूँजीबजारमा लाखौंको सहभागिता रहेको बताउँदै उनले मौद्रिक नीति आएसँगै कारोबार रकमसमेत बढेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।