काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत उपस्थिति तालिका निर्धारण गरेको छ।
रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार संसद् बैठकमा सांसदहरूको नियमित र पूर्ण उपस्थिति अपेक्षित भए पनि व्यावहारिक परिस्थितिलाई ध्यानमा राख्दै शून्य समय तथा समूहका आधारमा न्यूनतम उपस्थिति तालिका तय गरिएको हो।
निर्धारित तालिकाअनुसार असोज ८ गते समूह ३, ४ र १ का सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ। यस्तै, असोज १२ गते समूह १ र २, असोज १३ गते समूह २ र ३, असोज १४ गते समूह ३ र ४, असोज १५ गते समूह ४ र १ तथा असोज १६ गते समूह १ र २ का सांसदको अनिवार्य उपस्थिति तोकिएको छ।
तोकिएको दिन सम्बन्धित समूहका सांसदहरूलाई बैठक सुरु भएदेखि अन्त्यसम्म उपस्थित भएर छलफलमा सक्रिय सहभागी हुन निर्देशन दिइएको छ।
रास्वपाले तोकिएको तालिकामा कुनै समूहको नाम नपरेका सांसदहरूलाई भने संसद् बैठकमा उपस्थित हुन बाध्यकारी नभएको अर्थ नलिनसमेत स्पष्ट पारेको छ। विशेष अवस्था बाहेक संसद् बैठक सबै सांसदका लागि सधैँ बाध्यकारी रहेको सूचनामा उल्लेख छ।
त्यस्तै, बैठकका क्रममा छलफल प्रभावित नहुने गरी खाजा तथा अन्य आवश्यक समय पालैपालो व्यवस्थापन गर्न सांसदहरूलाई आग्रह गरिएको छ। कुनै प्रस्ताव वा विधेयक निर्णयार्थ प्रस्तुत हुने समयमा भने तोकिएका सबै सांसदको अनिवार्य उपस्थिति हुनुपर्ने रास्वपाले जनाएको छ।
रास्वपा संसदीय दलका मुख्य सचेतक बुर्लाकोटीले जारी गरेको सूचनामा संसद्को छलफललाई थप गुणात्मक, प्रभावकारी र फलदायी बनाउन उपस्थिति व्यवस्थापनको तालिका लागू गरिएको उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।