काठमाडाैं– राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि कुनै पनि दल दर्ताको निवेदन नआएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।
अध्यादेशअनुसार नियमावली संशोधन भएकाले उक्त नियमावलीको अनुसूची अनुसार दल दर्ताका लागि अब निवेदन आउनुपर्ने उनको तर्क छ। नेकपा एमालेबाट विभाजन भएर माधवकुमार नेपाल पक्षले नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले जसपा (लोकतान्त्रिक) नाम राखेको थियो।
नाम जुधेको भन्दै आयोगले पुन: अर्को नाम ल्याउन भनेको भनी चर्चा भइरहँदा प्रमुख आयुक्त थपलियाले हालसम्म कुनै निवेदन नआएकाले बाटोमा गएर कसैलाई भन्न नमिल्ने भन्दै यसमा सत्यता नभएको जिकिर गरे।
‘निर्वाचन आयोगले हिजैमात्रै नियमावली संशोधन गरेको छ। अहिले राजपत्रमा सूचना प्रकाशित भएको छ,’ थपलियाले भने, ‘पार्टी नाम मिल्ने वा नमिल्ने र नयाँ दर्ता गर्ने कुरा हामीले भन्ने अवस्था भएकै छैन।’
नियमावली आएकाले आजबाट दल दर्ताको प्रक्रिया सुरु भएको उनले बताए। ‘यदि निवेदन आएपछि आवश्यक पर्याे भने हामी विज्ञप्ति जारी गर्छौ,’ उनले भने, ‘मैले सचिवलाई कानुन बमोजिम निवेदन आयो कि आएन भनेर बिहानै सोधेको थिए। कुनै निवेदन आएको छैन। ११ बजे अघिसम्म कसैको निवेदन आएको छैन।’
अव बेलुकासम्म आए फरक कुरा हो भन्दै उनले भने, ‘हामीलाई थाहा नै नभएको कुरा कसरी भन्न सकिन्छ र। आउँदै होला आएपछि मात्र हामीले प्रक्रिया अघि बढाएर मिल्छ वा मिल्दैन भन्ने हो।’
नियमावली संशोधन नभएसम्म आयोगले केही गर्न नमिल्ने भएकाले यो प्रक्रिया नै सुरु नभएको उनले बताए। ‘नियमावली संशोधन भएर अनुसूची तोकेको छ। अनुसूची बमोजिम आउनुपर्यो अनि हामी कारवाही सुरु गरेर कहिले सनाखत गर्ने भन्छौं,’ थपलियाले भने, ‘नयाँ अध्यादेश आएपछि कुनै पनि दल विभाजनको निवेदन परेको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।