काठमाडौं- नेपालमा लघु चलचित्र प्रतियोगिता हुने भएको छ। नेपालस्थित युरोपियन युनियुनको डेलिगेसनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको घोषणा गरेको हो।
युरोपियन युनियनले दशौं संस्करणको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) को सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिताको घोषणा गरेको हो।
प्रतियोगितामा लैङ्गिक समानताका विषयमा बनेका फिल्म प्रतियोगीको रुपमा सहभागी हुन सक्ने युरोपियन युनियनले उल्लेख गरेको छ। लैङ्गिक विभेद, लैङ्गिक समानताका फाइदा, नेपालमा लैङ्गिक समानताको अवस्था आदि विषय उठाइएका फिल्मलाई प्रतियोगितामा प्राथमिकता दिइने पनि युरोपियन युनियनले जनाएको छ।
यही असोजको १ देखि ९ गतेसम्म नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ)को दशौं संस्करण भर्चुअल रुपमा आयोजना हुनेछ।
लैङ्गिक समानताका विषयलाई छुने अन्य विषयमा बनाइएका फिल्म पनि प्रतियोगितामा सहभागी हुन सक्ने आयोजकको भनाइ छ।
प्रतियोगितामा सहभागी हुने फिल्मकर्मी नेपाली नागरिक हुनुपर्ने र फिल्मको लम्बाई ४० मिनेट वा त्योभन्दा कम हुनुपर्ने युरोपियन युनियनले उल्लेख गरेको छ। त्यसबाहेक प्रतियोगितामा सहभागी हुने फिल्म सन् २०१८ वा त्योभन्दा पछि बनाइएको हुनुपर्नेछ। त्यो समयावधिभन्दा अगाडि बनाइएका फिल्म प्रतियोगिताका लागि योग्य नहुने जनाइएको छ।
नेपालमा बोलिने जुनसुकै भाषामा बनेका फिल्म प्रतियोगितामा सहभागी हुन सक्ने भएपनि यस्ता फिल्ममा अंग्रेजी भाषामा सबटाइटल अनिवार्य गरिइको छ। यदी फिल्म अंग्रेजीमा खिचिएको भए नेपाली सबटाइटल हुनुपर्ने युरोपियन युनियनले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले एमपी ४ फम्यार्टमा [email protected] भदौ १५मध्यरात सम्ममा पठाइ सक्नुपर्नेछ।
यसरी सहभागी हुन आएका फिल्मलाई युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले गठन गरेको निर्णायक समूहले मूल्यांकन गर्नेछ र फेस्टिभलको सुरुवातमै विजेताको घोषणा गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट हुने फिल्मले ५ सय युरो प्राप्त गर्नेछ। यो प्रतियोगितामा उत्कृष्ट बनेको फिल्म नेपाल युरोपियन फिल्म फेस्टिभलको यो संस्करणमा नै प्रदर्शन पनि गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।