काठमाडौं– नेकपा एमालेमै रहेको तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयनका लागि माग गर्ने भएका छन्।
एमालेमै एकताका लागि पहल गरेर अघि बढ्ने निष्कर्षमा पुगेका उनीहरुले नेता नेपाललाई भने पार्टी विभाजनको निर्णय सच्याउन माग गर्ने निर्णय गरेको नेता गोकर्ण विष्टले जानकारी दिए।
उनले भने, ‘पार्टी एकताकै लागि दबाब सिर्जना गर्ने निर्क्योलमा पुगेका छौं। १० बुँदे सहमतिको हस्ताक्षरकर्ता समेत भएकाले यसको कार्यान्वयन गर्नु हाम्रो नैतिक कर्तव्य हो।’
बिहीबार दिउँसो बसेको उनीहरुको बैठकले यस विषयलाई लिएर सामूहिक वक्तव्य जारी गर्ने समेत तयारी गरेका छन्। यसैगरी, शुक्रबार दिउँसो तत्कालीन ‘नेपाल पक्षीय’ स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य र सांसदहरुको भेला पनि गर्ने निर्णय गरिएको छ।
बैठकमा उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू विष्ट, योगेश भट्टराई, भीम आचार्य र स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, अृमतकुमार बोहरा र रघुजी पन्त सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।