काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट माधवकुमार नेपालको बहिर्गमनसँगै ल्याङल्याङ सकिएको बताएका छन्। बिहीबार भक्तपुर जिल्लाका कार्यकर्ताहरूलाई विशेष सम्बोधन गर्दै उनले हिजोको घटनासँगै ल्याङल्याङ सकिएको बताएका हुन्।
'अब कुनै अलमल बाँकी छैन। अहिले नेपालमा एउटा शब्द बहुत प्रचलित भइरहेको छ- ल्याङल्याङ। पार्टीमा अब ल्याङल्याङ सिद्धियो। त्यसकारण अब धनुमा राखेको वाणजस्तो भएर अगाडि बढ्नुपर्छ। गतिशील भएर अगाडि बढ्नुपर्दछ। जनताको बीचमा जानुपर्दछ', उनको भनाइ छ।
ओलीले माधव नेपालले निर्वाचन आयोगमा बुझाएको लिस्टबाट आफ्नो नाम हटाउन पनि नेताहरुलाई आग्रह गरे। उनले सबैले मिलेर बनाएको पार्टी एमालेमै आएर काम गर्न आग्रह गरे।
ओलीले आफूहरुले अलिकति मिहिनेत गर्ने हो भने नेपालको पार्टी दर्ता नै हुन नसक्ने बताए। एमालेलाई धुल्याउन राजनीतिक दल सम्बन्धी ऐनमा रहेको पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याउनुपर्ने प्रावधानलाई अध्यादेशमा २० प्रतिशतमा झारिएको तथा 'र'को ठाउँमा 'वा' राखिएकोमा पनि उनले अस्तुष्टि जनाए। 'म भन्दिन चाहन्छु, हामी अलिकति लाग्ने हो भने माधव नेपालको २० प्रतिशत त के, १० प्रतिशत पनि हुँदैन। त्यो पार्टी दर्ता पनि हुँदैन। नेकपा एमालेलाई कमजोर पार्ने कुरा त छाडिदिनुस्', उनले भने।
उनले नेकपा एमालेलाई ध्वस्त, कमजोर र खत्तम पार्न सकिन्छ भन्ने सोच्नेहरुलाई पार्टी कर्कलाको पातको पानी होइन नभएको जवाफ दिए। 'नेकपा एमाले कुनै नाजुक नाजुक कमजोर कमजोर त्यस्तो शक्ति पनि होइन। यो भवितव्यले बनेको र भवितव्यले नै बिग्रिहाल्ने खालको पनि होइन', उनले भने।
ओलीले अब आउने चुनाव एमालेको चुनाव भएको बताए। 'अरुले छेउमा बसेर रमिता हेरे हुन्छ। बाकस थाप्न पाइन्छ। थाप्नुस्। भोट माग्न पाइन्छ। माग्नुस्। तर जनताले त्यस्ताहरुलाई भोट दिन्छन् अब? आजको सचेत जनताले अस्थिरताका नायकहरुलाई, विकास विरोधीहरुलाई, शान्तिका शत्रुहरुलाई जनताले भोट दिन्छन्?', उनको आक्रोश थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।