काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले सभामुखको भूमिका निभाउन नसकेको आरोप लगाएका छन्। उनले एमालेले १४ जना सांसदलाई कारबाही गरेको विषयमा सभामुखले सूचना ननिकालेको भन्दै ओली उनीप्रति आक्रोशित भएका हुन्।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा ओलीले सभामुखले न्यायाधीश र माओवादीको कार्यकर्ता भएर काम गर्न नमिल्ने बताए।
'सभामुखको काम पार्टीले कसलाई निस्कासन गर्छ त्यो कार्यान्वयन गर्ने हो। पहिले लेखराज भट्ट, टोबहादुरलाई माओवादीले कारबाही गर्दा सभामुखले संसद्मा तत्काल सुनाउनु भएको थियो। सरिता गिरिलाई पार्टीको प्रमुख सचेतकले कारबाही गर्दा तत्काल सुनाउनु भएको थियो', ओलीले भने, 'त्यो उहाँको इच्छामा भएको थियो। तर, अहिले तीन दिनदेखि उहाँ के पर्खेर बस्नु भएको छ? नेकपा एमालले हटाइसकेका मानिसहरुको सूचना किन टाँस्नु हुन्न?'
उनले एमाले फुटाउने षडयन्त्रमा सभामुख सहभागी हुन नमिल्ने टिप्पणी गरे। उनले पार्टीप्रति वफादार भइराख्ने मान्छे सभामुख हुन नसक्ने बताए।
'म अग्नि सापकोटालाई सोध्न चाहन्छु संसद् चलाउनु छ कि छैन? गैरकानुनी र मनमौजी रुपमा संसद चल्दैन। उहाँलाई सभामुख हुनु छ कि छैन? एउटा पार्टी कार्यकर्ताको भूमिकामा रहेर सभामुख हुन सकिँदैन', ओलीले भने, 'सभामुखको कुर्सिमा बसेपछि निष्पक्ष हुनपर्छ। सकिँदैन भने छोड्दिए हुन्छ। उहाँले अब रोज्नुपर्छ पार्टी र कि सभामुख। यो अटेरी र जिद्दी तथा असंसदीय कार्य उहाँले माओवादी कार्यकताको रपमा निरन्तर देखाउनु भएको छ। यो कार्य गर्न पाइँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।