काठमाडौं– गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या करिब २ हजार पुगेको छ। क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले बुधबार दिएको जानकारी अनुसार भूकम्पका कारण हालसम्म एक हजार ९४१ जनाको मृत्यु भइसकेको छ।
भूकम्पमा परी १० हजारभन्दा बढी व्यक्ति घाइते भएको बीबीसीमा उल्लेख छ। यसैबीच, भूकम्प गएको तीन दिनपछि हाइटीमा अवस्थित शान्ति भवनबाट १६ जनालाई जीवित उद्धार गरिएको छ।
यस भूकम्पको केन्द्रविन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिम ४१ किलोमिटर टाढा रहेको स्थानमा ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ।
भूकम्पका कारण ६० हजारभन्दा बढी घर भत्किएका छन् भने, ७६ हजार क्षतिग्रस्त भएका छन् । कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायत भवनसमेत भत्किएका छन्।
भूकम्पका कारण पाँच लाखभन्दा बढी बालबालिका प्रभावित भएका संयुक्त राष्ट्रसंघको बालबालिका एजेन्सी युनिसेफले जनाएको छ।
हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय संकटकाल घोषणा गरेको छ।
सन् २०१० को जनवरीमा हाइटीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–औं–प्रिन्स र नजिकैका अधिकांश शहरमा ठूलो क्षति भएको थियो। उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।