काठमाडौं- बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले शपथ लिएकी छन्।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेकपा (एमाले)की उपाध्यक्ष शाक्य आजै मुख्यमन्त्री नियुक्त भएकी हुन्।
बुधबारको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई दलको नेता चयन गरिएको थियो।
बागमती प्रदेशमा एमालेका बहुमत सांसद भएकाले त्यसैलाई देखाएर शाक्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो। प्रदेश ससभामा कूल १०९ जना सदस्यमध्ये एमालेका ५५ जना छन्।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार नै एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्। तर, बागमती प्रदेश सभामा रहेका कति जना उनको पक्षमा लाग्छन् भन्ने स्पष्ट भइसकेको छैन। शाक्य यसअघि नेपाल पक्षमै थिइन्। तर, उनले विभाजनमा साथ दिइनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।