काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अफगानिस्तानमा तालिबानको राजनीतिक उदय विश्वका प्रत्येक शान्तिगामीका लागि चिन्ताको विषय भएको बताएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत् उनले आजको २१औं शताब्दीमा पनि चरमपन्थी धारणाले राजनीतिक आकार ग्रहण गर्नु आफैंमा उदेकलाग्दो रहेको बताए।
‘अफगानिस्तानको घटनाले दक्षिण एशिया लगायत विश्वका अन्यत्र पनि सामाजिक राजनीतिक र सुरक्षाको क्षेत्रमा निश्चयपनि प्रभाव पर्न सक्ने संभावनालाई अस्वीकार गर्न सकिँदैन। यस्तो विषम परिस्थितीमा नेपालको भूमिका निकै महत्वपूण हुने कुरामा द्धिविधा छैन,’ उनले लेखेका छन्।
नेपाल हाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्ष साथै बङ्गालको खाडीको प्रयास (बिम्सटेक)को सदस्य राष्ट्र पनि भएकाले अन्तर्राष्ट्रियस्तरमा समन्वय गरि अफगानिस्तानमा सुरक्षित राजनीतिक वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनले बताएका छन्।
‘मलाई आशा छ, सरकारले यस क्षेत्रमा उत्पन्न हुनसक्ने सबै प्रकारका चुनौतीको सम्बोधन गर्न आफ्नो सबै क्षमता परिचालन गर्नेछ,’ उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।