फाइल तस्बिर
काठमाडौं- जनता समाजवादी पार्टीका नेता रेशमलाल चौधरी महन्थ ठाकुरपक्षमा लागेका छन्। उनी उपेन्द्र यादव नेतृत्वको जसपा छाडेर ठाकुरपक्षले दर्ता गर्न लागेको नयाँ दल जनता समाजवादी पार्टी (लोकतान्त्रिक)मा लागेका हुन्।
ठाकुरपक्षले आज दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिसकेको छ। उक्त निवेदनमा बुझाइएको २४ जना कार्यकारिणी समिति सदस्यको सूचीमा चौधरीको नाम २४औं नम्बरमा छ।
डिल्लीबजार कारागारमा रहेका चौधरीले दर्ता हुन लागेको दलको कार्यकारिणी समितिमा आफ्नो नाम समेट्न दिएको मञ्जुरीनामा उक्त सूचीको साथमा आयोगमा बुझाइएको छ। उनले आफू ठाकुरको नेतृत्वमा दर्ता हुने दलको कार्यकारिणी समिति सदस्यको जिम्मेवारी वहन गर्न तयार रहेको मञ्जुरीनामामा उल्लेख गरेका छन्।
यसअघि जसपाको आधिकारिकता विवादबारे निर्णय लिने बेला निर्वाचन आयोगले गरेको सनाखतका क्रममा उनी आयोगमा उपस्थित भए पनि तटस्थ बसेका थिए। तर, पछि उनी यादवपक्षमा खुलेका थिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।