एजेन्सी – यस वर्षको चिकित्साशास्त्रको नोबेल पुरस्कार तीन अमेरिकी वैज्ञानिक जेफरी हल, माइकल रोबास र माइकल योङलाई प्रदान गरिने भएको थियो।
ती तीन वैज्ञानिकले फलफूलका झिंगाको ‘अग्र्यानिज्म’लाई नमूना बनाएर मानव शरीरको जैविक घडीको लय नियन्त्रण गर्ने वंशाणुमाथि गरेको अनुसन्धानका लागि पुरस्कार दिइएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
हल, रोबास र योङलाई ‘मोलेक्युलर मेकानिज्म कन्ट्रोलिङ द सर्काडियन रिद्म’का लागि दिइएको सोमबार नोबेल पुरस्कार समितिले जनाएको हो।
समितिका अनुसार उनीहरूले फलफूलमा लाग्ने झिंगाको जैविक क्रियाकलापलाई नमुना बनाएर हाम्रो शरीरको दैनिक जैविक घडी वा लय नियन्त्रण गर्ने वंशाणु (जिन) पहिल्याउन सफल भएका छन्।
अनुसन्धानमा जैविक घडी नियन्त्रण गर्ने वंशाणुमा रहेको प्रोटिन राति कोषमा संग्रह हुने र दिउँसो घट्ने पत्ता लागेको थियो।
सबै वनस्पति तथा प्राणीमा हुने ‘सर्काडियन रिद्म’ जसलाई जैविक घडी पनि भनिन्छ, ले सबैको सुत्ने, बानी व्यहोरा, हर्मोन स्तर, शरीरको तापक्रम र पाचन क्रियामा प्रभाव पर्छ।
बर्सेनि नोबेल पुरस्कार घोषणा हुँदा सबैभन्दा पहिले चिकित्सातर्फको पुरस्कार घोषणा हुने गर्छ ।
यसपछि भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्रतर्फका पुरस्कार घोषणा गरिनेछ।
नोबेल पुरस्कारको रकम ११ लाख अमेरिकी डलर छ ।
सन् १९४५ मा न्युयोर्कमा जन्मेका जेफरी सि हलले सन् १९७१ मा सियाटलको वासिङटन विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् । माइकल रोबास भने सन् १९४४ मा कान्सासमा जन्मिएका हुन् । उनले क्याम्ब्रिजको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलजीबाट सन् १९७० मा विद्यावारिधि गरे । सन् १९४९ मा मयामीमा जन्मेका माइकल डब्ल्यु योङले सन् १९७५ मा अस्टिनको टेक्सास विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।