काठमाडौं- नेकपा (एमाले) विभाजन गरी नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ। एमालेको 'लिगेसी' आफूहरुसँग भएकाले त्यस्तो नाम (एमाले समाजवादी) नाममा पार्टी दर्ता गर्न खोजिएको रामकुमारी झाँक्रीले जानकारी दिइन्।
किन उस्तै नाम, एमालेको माया बाँकी भएर हो? भन्ने पत्रकारको प्रश्नको उत्तर दिँदै निर्वाचन आयोग परिसरमा झाँक्रीले भनिन्- धेरै नै बाँकी छ।
'पार्टीका नाम जुधेपछि केही फरक पनि बनाउन आवश्यक थियो। हाम्रो लिगेसीलाई पनि हामीले छोड्न नचाहेको हो। त्यही कारणले उस्तै नाम भयो,' उनले भनिन्, 'हामीले यत्रो वर्ष काम गर्यौं। ३१ वर्ष नेकपा एमाले भएर काम गर्यौं। हामीले बनाएको हो। त्यसैले त्यसको लिगेसी हामीसँग छ। अनि अलिकति फरक पनि बनाउनुपर्यो।'
पार्टी दर्ताका लागि दिइएको निवेदनको दर्ता नम्बर ४३३ रहेको झाँक्रीले बताइन्। 'नेकपा एमाले समाजवादी पार्टी दर्ताको प्रक्रियामा छ। निवेदन दिएका छौं। दर्ताले अन्तिम रुप पाउनको लागि केही कानुनी प्रक्रिया पूरा गर्नुपर्छ। त्यसपछि पार्टीले दर्ता मान्यता पाउँछ,' उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।