काठमाडौं- सरकारले राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन गर्दै अध्यादेश जारी गरेको छ। प्रदेश सभा सदस्य र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तीन सातामा दल रोज्न पाउने व्यवस्था अध्यादेशमा गरिएको छ। त्यस अवधिभित्र नयाँ दलमा गएमा पनि पद नजाने गरि अध्यादेश ल्याइएको हो।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ३३ को उपदफा २ मा (२क) थपिएको छ। थपिएको प्रावधान अनुसार निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यले २१ दिनभित्र नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यको दल त्याग नहुने व्यवस्था गरिएको छ।
सरकारले ल्याएको अध्यादेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ।
नयाँ व्यवस्थाले सूर्य चिह्नबाट निर्वाचित माधवकुमार नेपाल पक्षका निर्वाचितले एमाले परित्याग गर्न पाउने भएका छन्। प्रदेश र स्थानीय तहमा सूर्य चिह्नबाट विजयी भएका माधव पक्षका जनप्रतिनिधि उनको पार्टीका आउने बाटो खुलेको छ। उनीहरुले नयाँ दल दर्ता भएको २१ दिनभित्र एमाले परित्याग गरेमा निर्वाचित पद नजाने भएको छ।
अध्यादेशमा थपिएको उक्त व्यवस्थामा भनिएको छ, ‘छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनु भन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।