काठमाडौं–विवाद र संघर्षको लामो शृंखलापछि अन्ततः नेकपा एमाले औपचारिक रुपमै विभाजन भएको छ। एमालेबाट फुटेको वरिष्ठ नेता माधवकुमार नेपालपक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका लागि बुधबार अपराह्न निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको हो।
बुधबार नेपालपक्षले निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका लागि निवेदन दिँदै पार्टीको चुनाव चिन्ह खुला किताबको दाबीसमेत पेस गरेको छ।
नेपालपक्षका नेता जगन्नाथ खतिवडाले भने, ‘निर्वाचन आयोगले चिह्न र नाम दिएपछि उसले माग्यो भने केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउनेछौं, परेमा उपस्थित हुनेछौं।’
मंगलबार सरकारले दल विभाजन सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो। सरकारले सिफारिस गरेको अध्यादेश बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी जारी गरेसँगै नेपालपक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको हो।
एमाले फुटेको यो दोस्रोपटक हो। २०५४ सालमा बामदेव गौतमको नेतृत्वमा एमाले विभाजन भएर नेकपा माले गठन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।