काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ पार्टी गठनको गृहकार्यमा सघन रुपमा जुटेका छन्। सरकारले नयाँ दल गठनका लागि खुकुलो प्रावधानसहितको अध्यादेश ल्याएपछि नेपाल पक्ष उत्साहित छ।
नेपाल पक्षले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब प्रस्ताव गरेको छ। उसले पार्टीको विधान र संरचना समेत तयार पारिसकेको छ।
तर, यसअघि नेपाल पक्षमा रहेका उनीसहित १४ जना स्थायी कमिटी सदस्यहरूमध्ये ११ जनाले नयाँ दल गठनमा साथ नदिने भएका छन्। वेदुराम भुसाल र मुकुन्द न्याैपाने बाहेक नेपाल पक्षमा रहेका अन्य नेताहरूले आफूहरु अहिले नै नयाँ पार्टी गठन अभियानमा सहभागी नहुने बताएका छन्।
उनीहरू बुधबार नेपाल पक्षले गरेको छलफलमा समेत अनुपस्थित थिए। स्थायी समिति सदस्यहरु भीम रावल, गोकर्ण विष्ट र योगेश भट्टराईले यसअघि नै विभाजनमा नलाग्ने बताइसकेका थिए।
बाँकी स्थायी समितिहरू झलनाथ खनाल, वामदेव गाैतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, सुरेन्द्र पाण्डे. घनश्याम भुसाल र रघुजी पन्तले पनि नयाँ दल गठनमा साथ नदिने भएका छन्। खनाल भारतको नयाँ दिल्लीमा उपचाररत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।