काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसाल तत्काल कुनै पक्षमा नलाग्ने भएका छन्। एमाले विभाजनको संघारमा पुगेका बेला उनी केपी शर्मा ओली नेतृत्वमा रहेको संस्थापन पक्ष र वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गर्ने नयाँ दलमध्ये कतै पनि नलाग्ने भएका हुन्।
एमाले एकता गराउन १० बुँदे सहमतिमा निकै जोड दिएका भुसाल अहिले पनि एकताकै पक्षमा लबिइङ गर्ने मनस्थितिमा छन्। पार्टीमा पक्ष/विपक्ष भन्दापनि १० बुँदे सहमतिमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल सहमत हुनुपर्ने उनले बताउँदै आएका छन्।
ओलीलाई मनाउन सक्रिय भएका भुसालले नेपालसँगको भेटमा ओलीले एकता नै नचाहेकाले समस्या भएको बताएका छन्। ‘पार्टी एकता गराउन निक्कै लागेँ। दुवै पक्षलाई १० बुँदेमा सहमत गराउन निकै प्रयत्न गरेँ’ नेपाललाई ब्रिफिङ गर्दै भुसालले भने, ‘हामीले चाहँदा चाहँदैपनि केपी कमरेडले एकता नचाहेकाले समस्या भयो।’
भुसाल विभाजित एमाले भन्दा एकीकृत एमाले बनाउनु पर्नेमा अझै अडिक रहेका छन्। त्यसका लागि आफूले अझै प्रयत्न गर्ने भन्दै उनले दुवै पक्षमा नखुल्ने संकेत गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।