काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्ष र जनता समाजवादी पार्टी(जसपा) का महन्थ ठाकुरपक्ष नयाँ दल दर्ताको तयारीमा जुटेको छ।
मंगलबार सरकारले सिफारिस गरेको दल विभाजन सम्बन्धी अध्यादेशलाई राष्ट्रपति भण्डारीले बुधबार जारी गरेसँगै नेपालपक्ष र ठाकुरपक्ष दल दर्ताको तयारीमा जुटेका हुन्। माधव नेपालपक्षले नाम र चुनाव चिह्न टुंगो लगाएको छ।
बुधबार बानेश्वरमा जारी रहेको नेपालपक्षको केन्द्रीय सदस्यहरु र सांसदहरुको बैठकले पार्टीको नाम र चुनाव चिह्न टुंगो लगाएको हो। उक्त पक्षले पार्टीको नाम एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राख्ने निर्णय गरेको छ।
'धेरै थरी सुझाव आएको छ। तर हामीले पार्टीको नाम नेकपा एमाले समाजवादी रहने टुंगो लगाएका छौं। चुनाव चिह्न पनि खुला किताब राख्ने निर्णय गरेका छौं', नेपालपक्षका एक नेताले बताए।
त्यस्तै जसपाको महन्थपक्ष पनि नयाँ दल दर्ताको लागि निर्वाचन आयोग जाने तयारीमा छन्।
निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि दलविहीन अवस्थामा पुगेका महन्थ ठाकुर राजेन्द्र महतो पक्षले अध्यादेश जारी भएसँगै नयाँ दल दर्ताको तयारी गरेको हो।
अध्यादेश जारी भएको र आफूहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने ठाकुरपक्षका नेता सुरेन्द्र झाले नेपाल लाइभलाई जानकारी दिए। ठाकुर पक्षको पार्टीको नाम जसपा लोकतान्त्रिक हुने झाले जानकारी दिए।
नेपालपक्ष र ठाकुरपक्षले आजै पार्टीका नाम र चुनाव चिह्न लिएर आयोग जाने तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।