काभ्रे जिल्लाको तिमाल गाउँ काठमाडौंबाट उति टाढा छैन। माइला लामा बेला–बेला गाउँ पुग्छन्। तर, मन अडिदैन। अनि फेरि आइपुग्छन्, काठमाडौँ।
तिमालमा बाबुआमा छन्। दाजुभाइ छन्। तर, रिक्सा छैन। उनी त रिक्सा चलाउने मान्छे। उनको संसार काठमाडौँमा छ।
उमेर पाँच दशक नाघ्न लागेको छ। बिहे गरेका छैनन्। दाजुभाइका त नातिनातिना भइसकेका छन्। गाउँ जाँदा केटाकेटीलाई खानेकुरा लगिदिन्छन्। उनलाई बच्चाहरुसँग खेल्न खूब मनपर्छ।
‘अनि, तपाईं चाहिँ बिहे नगर्ने?’
प्रश्न सुनेर उनी मुस्कुराए। अनि बोले, ‘यो उमेरमा अब कसले पत्याउँछ? कोही पत्याउने छन् भने खोजिदिनू।’
उनी असनमा कोठा भाडामा लिएर साथीसँग बस्छन्। कोठाभाडा महिनाको ६ हजार रुपैयाँ तिर्नु पर्छ। आलोपालो र्तिछन्। साथी पनि रिक्सा चलाउँछन्।
उनीहरुको रिक्सा चलाउने रुट ‘राजधानीको मुटु’ मानिने वसन्तपुर, असन, ठमेल, दरबारमार्ग, रत्नपार्क, न्युरोड, जमल, बागबजार, सुन्धारातिर हो। उनी यहाँका हरेक चोक र गल्लीसँग अभ्यस्त छन्। उनको जीवनको सारथी भनेकै रिक्सा हो।
माइला लामा उहिल्यै काठमाडौँ छिरेका हुन्। काम खोज्न तिमालबाट लहैलहैमा यता आएका थिए। तीन दशकदेखि रिक्सा चलाइरहेका छन्। रिक्सा चलाउनमै मस्त छन्। ‘अरु काम गरिएन, रिक्सा चलाउनबाहेक कुनै काम जानेको पनि छैन,’ उनी भन्छन्।
कोराना महामारीअघि उनी उति गाउँ जाँदैन थिए। काठमाडौँमै भ्याइनभ्याइ हुन्थ्यो। अहिले त वसन्तपुर जानु र ग्राहक कुरेर रिक्सामा बस्नुमै सीमित भएको छ। ‘न पहिलाजस्तो चहलपहल छ, न ग्राहक नै हुन्छन्। कोरोनाले अन्य व्यापारमा असर गर्दा रिक्सा चढ्ने पनि कम भए,’ उनी भन्छन्।
कोराना महामारीअघि उनी उति गाउँ जाँदैन थिए। काठमाडौँमै भ्याइनभ्याइ हुन्थ्यो। अहिले त वसन्तपुर जानु र ग्राहक कुरेर रिक्सामा बस्नुमै सीमित भएको छ।
कोरोना महामारीको दोस्रो लहरपछि वसन्तपुरमा उति भिडभाड छैन। रिक्सा चढ्ने त झनै कम छन्। पर्यटकहरु आउनै छाडेका छन्। उनी दिनभरि रिक्सामा बसेर यात्रु कुरिरहन्छन्। ‘अहिले कमाइ छैन, यात्रु पाउन मुस्किल छ,’ उनी भन्छन्।
उनको रिक्सा पनि अब त पुरानो भइसकेको छ। रिक्साको अगाडि भागमा फूलका गुच्छा सजाएका छन्। त्यसैको माथि सानो चिटिक्कको छाता राखेका छन। छाता आफ्नो लागि हो। यात्रुका लागि घाम–पानी छेल्न प्लाष्टिक ओताएका छन्। तर, रिक्सा चढिदिने नभएर पो!
अहिले रिक्सा यात्रु बोक्नेभन्दा बढी थकाइ मार्ने साधन भएको छ। पानी पर्दा यसैमा ओत। घाम लाग्दा पनि यसैमा ओत। निद्रा लागे यसैमा सुतिदिन्छन्। यात्रु पाए दौडिहाल्छन्।
यात्रुले जता लगे उतै जान्छन्। बढीजसो त वसन्तपुर, असन, ठमेलतिर पुग्छन्। असनमा चारपाङ्ग्रेलाई प्रवेश निषेध छ, त्यसैले होला त्यता गइरहनुपर्छ। ठमेलमा पनि एकतर्फी बाटो र चारपाङ्ग्रेलाई निषेध गरिएका ठाउँ छन्। यस्ता ठाउँमा रिक्सा लैजान पाइन्छ।
रिक्साकै आम्दानीबाट उनी आमाबाबुलाई खर्च पठाउँछन्। आफ्नो जिन्दगी चलाउँछन्। प्रायः दिनको १५ सयदेखि २ हजार रुपैयाँ कमाउँछन्। सिजनमा त चारदेखि पाँच हजार रुपैयाँसम्म हुन्थ्यो। हिउँदलाई उनी रिक्साको ‘सिजन’ मान्छन्। त्यति बेला पर्यटक आउँथे।
‘अब त सिजन पनि के भन्नु? पर्यटकको अनुहार नदेखेको कति भयो कति?’ उनले निराशा व्यक्त गरे।
नेपालीहरु त्यति रिक्सा चढिहाल्दैनन्। ‘चढे पनि पर्यटकसँग जति पैसा लिनु भएन,’ उनी भन्छन्। यसरी उनको आम्दानी सुकेको डेढ वर्ष भइसक्यो।
कोरोना नियन्त्रणका लागि ११ चैत २०७६ देखि सरकारले लकडाउन घोषणा गर्दा उनी कामविहीन भए। अनि गाउँ सम्झिए। यताभन्दा उतै सजिलो होला भनेर तिमाल पुगे। आामबाबुसँग बसे। खेतीपाती गरे। उनले खेतबारीको काम छाडेको वर्षौँ भएको थियो। ‘पहिला त निकै गाह्रो भयो। खन्न, जोत्न, भारी बोक्न सजिलो कहाँ छ र? पछि बिस्तारै बानी परेँ,’ उनी भन्छन्।
लकडाउन पूर्णरुपले नखुलेसम्म उनी यता आएनन्। लकडाउन खुलेपछि आउँदा पनि रिक्सा चढ्ने मान्छे नै पाएनन्। फेरि गाउँ सम्झिए, तर गएनन्। रिक्सा चलाएको तीस वर्षमा पहिलो पटक कमाइ ठप्प भयो।
उनीसँगैका साथी धेरै विदेश गए। उनलाई जान मन भएन। ‘एक्लो ज्यान छ। घरमा बाबुआमा छन्। तीन जना त रिक्सा चलाएरै पनि पाल्छु भन्ने लागेर यतै बसियो,’ उनी भन्छन्। अहिले भने उनलाई रिक्साबाहेक अरु सीप पनि सिकेको भए हुने रहेछ भन्ने लाग्छ। ‘अब त सिक्ने उमेर पनि छैन,’ उनले भने।
उनलाई अब फेरि कोरोनाको अर्को लहर सुरु होला कि भन्ने डर छ। अर्को लहर आउने हल्ला सुन्छन्। अनि, कामना गर्छन्, ‘अब रिक्सा थन्काउने दिन नआओस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।