काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन्।
संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने काम जसले गरे पनि गलत भएको उनले सामाजिक सञ्जालमार्फत बताएका हुन्।
‘संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत! हिजो गलत, आज गलत, सधैँ गलत, जसले गरे पनि गलत! हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन,’ उनले सामाजिक सञ्जालमा भनेका छन्।
पहिला ल्याउँदा गलत भन्नेले अहिले ल्याएको बताउँदै उनले भनेका छन्, ‘समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’
गतवर्ष यस्तै अध्यादेश ल्याउने कसैलाई पनि यसको विरोध गर्ने अधिकार नरहेको उनको भनाइ छ। ‘सँगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद् छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन,’ उनले भनेका छन्, ‘विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।