फाइल तस्वीर
काठमाडौं– जर्मनीले अफगानिस्तानका लागि दिँदै आएको विकास सहायता तत्कालका लागि रोक्ने निर्णय गरेको छ। अफगानितानमा तालिबान सत्तामा पुगेपछि उक्त निर्णय भएको जर्मनीका विकास मन्त्री गर्ड मुलरलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।
परिवर्तित राजनीतिक अवस्थाका कारण जर्मनीले अफगानिस्तानलाई उपलब्ध गराउँदै आएको सहयोग केही समयको लागि निलम्बन गरेको विकास मन्त्री मुलरले जर्मन पत्रिका रिनिशा पोस्टको अन्तरवार्तामा भनेका थिए।
अफगानिस्तानबाट जर्मनी फिर्ता हुन चाहने स्थानीय विकास अधिकारी र गैर–सरकारी संस्थाका कर्मचारीलाई ल्याउनका लागि द्रूत गतिमा काम गरिरहेकोसमेत उनको भनाइ थियो।
काबुलमा रहेका जर्मन नागरिकलाई सेनाको नेतृत्वमा उद्धार गर्ने अभियान जारी रहे पनि स्थलगत कठिनाइका कारण ढिला भएको उनको भनाइ थियो।
अफगानिस्तानको ठूला दातामध्ये एक जर्मनीले वार्षिक ५०६ मिलियन अमेरिकी डलर अफगानिस्तान पठाउने सहमति गरेको थियो। उक्त रकम स्थानीय प्रहरी बलको तालिम, न्याय प्रणाली तथा महिलाको हक अधिकारलाई सुनिश्चित गर्न र भ्रष्टाचार विरुद्धको अभियानमा खर्चिने सहमति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।