अफगानिस्तानका विभिन्न सहरमा लुक्दै, भाग्दै हिँड्न बाध्य एक महिलाले ‘द गार्जियन’सँग सुनाएको वेदनाः
दुई दिन पहिले तालिबानले उत्तर अफगानिस्तानस्थित मेरो सहर कब्जा गरेपछि म आफ्नै घर छोडेर हिँड्न बाध्य भएँ। अहिले म भागिरहेछु तर, जाने कुनै सुरक्षित ठाउँ छैन।
गत हप्तासम्म म एक पत्रकार थिएँ। आज म आफ्नै नाम भन्न सक्दिनँ। कहाँबाट आएकी हुँ र कहाँ छु भन्ने पनि बताउन सक्दिनँ। केही दिनमै मेरो जीवन तहसनहस भएको छ।
हो, म एकदमै डराएकी छु। थाहा छैन मलाई के-के हुनेछ? म घर फर्किन्छु, फर्किन्नँ? आमा-बालाई भेट्छु, भेट्दिनँ? कहाँ जानेछु? अहँ केही पनि थाहा छैन। न अगाडि जाने ठाउँ थाहा छ, न पछाडि फर्किने नै। म कसरी पो बाँचुला?
मैले योजना बनाएर घर छोड्ने निर्णय लिएकी होइन। अचानक यो निर्णय लिन बाध्य भएकी हुँ म। केही दिनमै एक-एक गर्दै मेरो प्रान्त तालिबानको कब्जामा गयो। विमानस्थल र केही सीमित जिल्ला प्रहरी कार्यालयमात्रै सरकारको नियन्त्रणमा रहे। त्यस्तो अवस्थामा म सुरक्षित रहन सक्दिनँ। कारण स्पष्ट छ, म २२ वर्षकी जवान महिला हुँ। र, मलाई थाहा छ, आफ्ना लडाकूको निम्ति स्वास्नी बनाउन तालिबानहरूले घर-घरबाटै जबर्जस्ती महिलाहरू लगिरहेछन्। त्यसमाथि म त पत्रकार हुँ। मलाई थाहा छ, तालिबानहरू म र मेरा सहकर्मीलाई खोज्दै आइपुग्ने छन्।
यसै पनि तालिबानहरू आफूले निशाना साँध्न चाहेका मानिसहरू खोजिरहेछन्। गत सातामात्रै मेरा म्यानेजरले मलाई फोन गरेर नचिनेको नम्बरबाट आएका कुनै पनि फोन नउठाउन सुझाए। खासगरी महिलाहरू लुक्नुपर्ने र सकेसम्म सहर छोड्नुपर्ने सुझाव थियो उनको।
थाहा छ मलाई, म जस्तै अरु महिलाहरू पनि सहरबाट भागेका छन्। र सुरक्षित ठाउँको खोजीमा भौतारिरहेका छन्। म हरपल साथीहरू, छिमेकीहरू, सहपाठीहरू र अफगानिस्तानका समग्र महिलाहरूबारे चिन्तित भइरहेकी हुन्छु।
घर छोड्ने निर्णय गरेर झोला तयार गदैगर्दा मैले गोली र रकेटका आवाजहरू सुनिरहेथेँ। हवाइजहाज र हेलिकप्टरहरू हाम्रो टाउकैनेरबाट उड्दै थिए। घर अगाडिको बाटोमा लडाइँ चलिरहेथ्यो। काकाले सुरक्षित ठाउँसम्म पुर्याइदिन्छु भनेपछि मैले मोबाइल बोकेँ र चादरी (पूरै शरीर ढाक्ने अफगानी बुर्का) ओढेर निस्किएँ। लडाइँको मैदानमै घर भए पनि मेरा आमा-बा भने घर छोड्न मान्नुभएन। बरु रकेट हानाहान बढ्दै जाँदा मलाई छिट्टै घर छोड्न कर गरिरहनुभयो। उहाँहरूलाई थाहा थियो, कुनै पनि समय सहरबाट निस्कने बाटोहरू बन्द हुनसक्छन्। बाध्य भएर मैले उहाँहरूलाई घरमै छोडेर काकासँग निस्किएँ। त्यसपछि आमा-बासँग मेरो कुराकानी भएको छैन। सहरका कुनै पनि फोन चलेका छैनन्।
घरबाहिरको अवस्था भयावह थियो। हाम्रो टोलमा घर छोडेर भाग्ने म अन्तिम युवती थिएँ। घरबाहिरको गल्लीमै तालिबान लडाकू तैनाथ थिए। उनीहरू सहरका सबै कुनामा छरिइसकेका थिए। अल्लाहलाई धन्यवाद, मलाई केही भएन। हुन त म बुर्कामा थिएँ तैपनि कतै मलाई तालिबानी लडाकूहरूले रोक्ने हुन् कि, चिन्ने पो हुन् कि भन्ने डर थियो। हिँड्दै गर्दा म डरले काँपिरहेथेँ तर, नडराएजस्तो देखिने कोसिस गरिरहेथेँ।
हामीले घर छोड्नेबित्तिकै, ठ्याक्कै अर्कोपट्टि रकेट बर्सियो। मेरो छेउछाउमा भएका महिला र बच्चाहरू रुँदै, कराउँदै जता पायो त्यता दौडिरहेको दृश्य जतिबेला पनि मेरो मानसपटलमा घुमिरहन्छ। त्यतिबेला मैले महसुस गरेँ, हामी सबै एउटा डुङ्गामा कोचिएका छौँ र एउटा ठूलो आँधी आइरहेछ।
जसोतसो हामी काकाको कारसम्म पुगेर सहरबाहिर ३० मिनेट पर पर्ने उहाँको घरतिर लाग्यौं। बाटोमा हामीलाई तालिबानहरूको चेकपोस्टमा रोकियो। त्यो मेरो जीवनकै सबैभन्दा डरलाग्दो क्षण थियो। चादरीले ढाकिएकी हुनाले उनीहरूले मलाई बेवास्ता गरे तर काकालाई भने कहाँ जान लागेको भनेर निकै केरकार गरे। काकाले हामी सहरको स्वास्थ्य केन्द्र गएर घरतिर फर्कंदै गरेको बताउनुभयो। उनीहरूले सोधपुछ गरिरहँदा रकेट हानाहान भइरहेथ्यो। अन्ततः उनीहरूले हामीलाई जान दिए।
जसोतसो काकाको गाउँमा पुगे पनि हामी सुरक्षित भने थिएनौं। काकाको गाउँ तालिवानको कब्जामा परिसकेको थियो र धेरै परिवार तालिवानका शुभेच्छुक थिए। त्यहाँ पुगेको केही घण्टामै हामीले थाहा पायौँ, केही छिमेकीहरूले मलाई त्यहाँ लुकाएको कुरा चाल पाएछन्। अब त्यो ठाउँ छोड्नुपर्ने भयो। काकाले सहरबाट मलाई लुकाउन त्यहाँ ल्याउनुभएको छ भन्ने तालिबानहरूले थाहा पाइसकेका छन् भनेर गाउँलेहरूले भन्थे। तालिबानहरू गाउँमा आएर मलाई देखे सबैलाई मार्ने खतरा बढ्यो। हामी गाउँ छोड्न बाध्य भयौँ।
हामीले अलि टाढाको नाता पर्ने एकजना आफन्तको घरमा शरण पायौं। त्यहाँ पुग्न घण्टौं पैदल हिँड्नुपर्थ्यो। बाटोमा भेटिने तालिबानहरूको नजरबाट जोगिन मसँग त्यही चादरी थियो। अहिले म त्यही गाउँमा छु। यहाँ न पानी छ, न बिजुली नै। मुस्किलले फोनको सिग्नल टिप्छ। म संसारदेखि बेखबर भएकी छु।
थाहा छ मलाई, म जस्तै अरु महिलाहरू पनि सहरबाट भागेका छन्। र सुरक्षित ठाउँको खोजीमा भौतारिरहेका छन्। म हरपल साथीहरू, छिमेकीहरू, सहपाठीहरू र अफगानिस्तानका समग्र महिलाहरूबारे चिन्तित भइरहेकी हुन्छु।
सञ्चार क्षेत्रमा आबद्ध मेरा सम्पूर्ण महिला सहकर्मी आतंकित छन्। अधिकांशले सहर छोडिसकेका छन्। उनीहरू सकेसम्म यो प्रान्तबाट बाहिर निस्कने उपाय खोज्दै छन्। हामी सबैले तालिबानको विरोध गर्यौँ। त्यसैले उनीहरू हाम्रो पत्रकारिताप्रति त्रुद्ध छन्।
यो निकै तनावग्रस्त समय हो। र, मसँग एउटै विकल्प छ भागिरहने र यो प्रान्तबाट बाहिरिने अवसर मिल्ने प्रार्थना गर्ने। कृपया मेरा लागि अल्लाहसँग दुआ माग्नुहोस्।
(‘वुमन रिपोर्ट अफगानिस्तान’ शृंखलाअन्तर्गत १० अगस्ट (२६ साउन) मा ‘द गार्जियन’मा प्रकाशित यो सामग्रीको अनुवाद शंकर भण्डारीले गरेका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।