काठमाडौं- पार्टी एकताका लागि अन्तिम प्रयत्न गर्ने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका घनश्याम भुसालले दुई प्रस्ताव लिएर गएको वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन्।
मंगलबार आफूपक्षीय जनवर्गीय संगठनका नेताहरुको 'भर्चुअल' संवादमा बोल्दै वरिष्ठ नेता नेपालले सो कुरा बताएका हुन्। भुसालले आफूसँग एकताको निम्ति अन्तिम प्रयत्न गरौं र प्रयास गर्छु भनेर ओलीसँग कुरा गर्न गएको उनको भनाइ छ।
'केपी ओलीले आजसम्म गरेका सबै निर्णयहरु फिर्ता लिने। र यस्ता कुनै पनि नयाँ निर्णयहरु नगर्ने। दोस्रो भनेको पहिले दिएका वचनहरु पूरा गर्ने। यी दुई कुरा गरियो भने पार्टीलाई एकताबद्ध गरेर जाने कुरामा तपाईं सहमत हुनुहुन्छ भनेर घनश्याम भुसालले मलाई सोध्नुभयो,' नेपालले भने।
ओलीले दलको बैठकबाट कारबाही गर्न लागेको सूचना आफूले पाएको भन्दै भुसालले त्यसलाई रोक्नका लागि भेट्न गएको नेपालको भनाइ छ। 'के कुराकानी गर्नुभएको छ, मलाई थाहा भएको छैन। अहिले सूचना पाउँदा उहाँले कारबाही गर्नुभयो,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।