काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका महन्थ ठाकुर पक्षधर नेता तथा सांसद लक्ष्मणलाल कर्णले राजनीतिक दल विभाजन सम्वन्धी अध्यादेशको सर्मथन गर्ने बताएका छन्। आफूहरु नयाँ पार्टी गठनको गृहकार्यमा जुटेको उनको भनाइ थियो।
कर्णले आफूहरु उपेन्द्र यादवसँग मिलेर बस्न नसक्ने अवस्थामा पुगेकोले छिट्टै नयाँ दल दर्ता गर्ने बताए। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकोमा आफूहरुले स्वागत गर्ने बताए।
‘संसद् नभएको बेलामा अध्यादेश ल्याउने सरकारको संविधानसम्मत् काम हो। संविधानले यो अधिकार दिएको छ’, उनले भने, ‘अहिले भर्खरै मैले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको भनेर सुनें, यदी आएको हो भने संविधानसम्मत् हो।’ जसपाको महन्थ ठाकुरपक्षका पाँच नेताले मंगलबारनै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए।
जसपाको समस्या निर्वाचन आयोगका कारण जन्मेको दाबी उनले गरे।
‘यो प्रश्न जबरजस्ती निर्वाचन आयोगले जन्माएको हो। हामी अहिले सर्वोच्च अदालत गएका छौं’, उनले भने, ‘निर्वाचन आयोगले उपेन्द्र यदावको पक्षलाई आधिकारिकता दियो। त्यो निर्णय कति ठिक छ वा छैन भन्ने कुरा म यहाँ चर्चा गर्दिन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।