फाइल तस्वीर
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ‘निर्णायक वार्ता’ गर्न वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता घनश्याम भूसाल, रघुजी पन्तलगायत बालकोट पुगेका छन्।
नेपाल पक्षीय भेलामा केही समय बसेर उनीहरु ओलीसँग कुरा गर्न गएको नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले बताए। उनले भने, 'हामीले एकताको लागि अन्तिम प्रयास गरेकै छौं। आज पनि नेताहरु केपी ओलीको बालकोट निवासमा पुग्नुभएको छ, अन्तिम प्रयासको लागि। त्यसलाई पनि पर्खिँदै छौं। कार्यदलमा रहेका कमरेडहरु उहाँ पुग्नुभएको छ।'
अन्तिमपल्ट प्रयास गर्ने भन्दै ओलीसँग भेटवार्ता गर्न गएका नेताहरु आएपछि थप निर्णय लिने संकेत खतिवडाले गरे। पार्टी एकताका लागि केही समय मात्रै पर्खिने उनले बताए। उनले भने, ‘अब दिन होइन, घन्टा मात्रै पर्खिन सकिन्छ।’
खतिवडाले ओली १० बुँदे सहमति भन्दा धेरै अघि बढिसकेको बताए।
'उहाँ कुरा गर्न जानुभएको होला। निर्णायक वार्ता पनि होला। छलफल पनि हुँदो हो। उहाँ यहाँ आउँदै हुनुहुन्छ। हामी पर्खेर पनि बसिरहेका छौं। उहाँले के सूचना दिनुहुन्छ। हामीलाई थाहा छैन। तर कमरेड केपी ओलीले उहाँहरु समेतले गरेको १० बुँदे सहमतिको हस्ताक्षर भनिन्छ नि, त्यो मिचेर धेरै अगाडि बढिसक्नुभयो। त्यसैले हामीलाई विश्वास छैन। तथापि, हाम्रा आदरणीय नेताहरुले भनेको हुनाले पर्खेर बसिरहेका छौं' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।