काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको कदमलाई निकृष्टताको संज्ञा दिँदै तत्काल रद्द गर्न माग गरेका छन्।
एमाले संसदीय दलमा बोल्दै उनले प्रश्न गरे, ‘कस्तो निकृष्टता हो यो? कस्तो षड्यन्त्र हो यो? यस्ता खेल गठबन्धनमार्फत् भइरहेका छन्। खेल बन्द गरियोस्।’
संसद् अधिवेशन अनपेक्षित रुपमा अन्त्य गरेर अध्यादेश ल्याउनु अस्वाभाविक रहेको उनले बताए। त्यसैले वर्तमान अवस्थामा आएको अध्यादेश कार्यान्वयन नहुने उनको भनाइ थियो। उनले भने, ‘त्यो अध्यादेश कार्यान्वयन हुन सक्दैन, रद्द गर्नुपर्छ।’
उनले तत्काल संसद् अधिवेशन बोलाउन पनि माग गरेका छन्। ‘संसद् अधिवेशन तुरुन्त, तीन दिनभित्र बोलाउनुपर्छ,’ उनले भने।
अध्यक्ष ओलीले गठबन्धनले अनुचित षड्यन्त्र, अप्राकृतिक क्रियाकलाप गरिरहेको बताए।
यो तत्काल खारेज नभइ कार्यान्वयनतर्फ अघि बढ्यो भने महँगो पर्ने उनको भनाइ थियो। उनले भने, ‘कृत्रिम ढंगले, अस्वाभाविक ढंगले एमाले फुटाउनेतिर लागियो भने महँगो पर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।