काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक बसिरहेको छ।
मंगलबार बानेश्वरस्थित अर्याल होटलमा नेपालपक्षको केन्द्रीय सदस्य र सांसदहरुको बैठक बसिरहेको हो। बैठकमा एमाले विवाद समाधानका लागि यसअघि गठन गरिएको कार्यदलका नेताहरु उपस्थित छैनन्।
कार्यदलमा नेपालपक्षका नेताहरु भीम रावल, गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त रहेका थिए।
उक्त कार्यदललाई एमालेको केपी ओलीपक्षको बैठकले खारेज गरेको थियो। कार्यदलमा विवाद समाधानका लागि १० बुँदे सहमति भएको थियो। जसको स्वामित्व लिने एमालेले निर्णय गरेको थियो। नेपालपक्षमा रहेका नेता भीम रावलले भने आफू पक्षका नेता तथा सांसद्हरुको बेग्लै भेला आयोजना गरेका छन्।
सरकारले मंगलबार दल विभाजनका लागि सहज हुने गरे राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ। दल फुटाउन केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुग्नुपर्ने व्यवस्थालाई २० प्रतिशतमा झारिएको छ।
दल विभाजनको अध्यादेश आएसँगै अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटीको संख्या २०३ बाट २६० बनाएर अध्यावधिकका लागि निर्वाचन आयोगमा विवरण पेश गरेको छ।
मंगलबार नै सिंहदरबारमा आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा नेता नेपालले अध्यक्ष ओलीले आफूहरुलाई कारबाही गरेर निर्वाचन आयोगमा पत्र पठाइसकेको दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।