काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले पार्टीका सांसद रेशम चौधरीलाई तत्काल रिहाइ गर्न सरकारलाई पुनः दबाव दिएको छ।
पार्टीको बुधबार बसेको अध्यक्ष मण्डल बैठकले ज्यान मार्ने अभियोग अन्तर्गत जेल चलान भएका कैलाली क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका सांसद चौधरीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको हो। सांसद चौधरीलाई रिहा गरी सपथको व्यवस्था गर्न सरकारलाई पुनः दबाव दिनुपरेको पार्टीका नेता राजकिशोर यादवले बताए।
टीकापुर घटनाको आरोपमा आफ्ना कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा तत्काल फिर्ता गर्न पनि राजपाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
बैठकमा संविधान संशोधन कहिले गर्ने भनी सरकारको आधिकारिक धारणा माग गर्ने विषयमा पनि छलफल गरिएको नेता यादवले बताए।
बैठकमा पार्टी संसदीय दल विधान निर्माणका विषय पनि प्रवेश गराइएको छ। संसदीय दलको नेता चयन गर्ने प्रस्तावसहित दलको विधानका विषयमा पनि छलफल सुरु गरिएको नेता यादवले जानकारी दिए।
बैठक निरन्तर जारी राख्दै पार्टीको आसन्न महाधिवेशनको तयारीका लागि आवश्यक निर्णय लिने पनि राजपाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।