काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षले अध्यक्ष केपी शर्मा ओलीले मंगलबारसम्म विगतका निर्णय नसच्याए फुटको औपचारिक प्रक्रिया आरम्भ हुने जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना नेपालपक्षको सांसदको बैठकले उक्त निष्कर्ष निकालेको नेपालपक्षका सांसद विरोध खतिवडाले बताएका छन्।
उनले भने, ‘ओलीपक्षले एकलौटी रुपमा गरेको निर्णय आज रातिसम्म फिर्ता लिएर सुध्रिए भने एकता हुन्छ। उनी जहाँ छन्, त्यहीँ रहे भने आवश्यक (फुटको) प्रक्रिया सुरु हुन्छ।
ओलीपक्षले विभाजनतर्फ लैजान जोडबल गरेकाले बाध्य भएर उक्त कदम चाल्नुपर्ने निर्क्योलमा आफूहरु पुगेको खतिवडाले बताए।
निर्वाचन आयोगमा २०३ केन्द्रीय सदस्यबाट २६० जनाको अद्यावधिक सूची बुझाएर जालेझेल गरेको उनले बताए। भने, ‘हामी पुरानैबाट ब्याक हुनुपर्छ भनिरहेको छौं। उहाँहरु थप बेइमानी गर्दै हुनुहुन्छ।’
उनले राजनीति जाम भएर नबस्ने बताउँदै आफूहरु त्यतातिर लागिरहेको संकेत गरे। अध्यादेशका विषयमा आफ्नो विरोध नरहेको उनको भनाइ छ।
मौन समर्थन हो? भन्ने प्रश्नमा उनले भने, ‘त्यसरी बुझ्दा पनि हुन्छ। होइन भन्दिनँ।’
अहिले अध्यादेश ल्याउनु स्वाभाविक रहेको उनले बताए। पहिले ओलीले जबर्जस्ती फुटाउन खोजेको तर अहिले दलहरुमा विभाजन जरुरी भएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।