फाइल तस्वीर
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट गर्न नेताहरु घनश्याम भुसाल र तुलसा थापा अर्याल होटल पुगेका छन्।
सोमबार वरिष्ठ नेता नेपालपक्षका सांसदहरुको बैठक अर्याल होटलमा जारी रहँदा भुसाल र थापा नेता नेपाललाई भेट्न पुगेका नेपाल पक्षका एक नेताले बताए।
मंगलबार नै सिंहदरबारमा नेपाल पक्षका सांसद् र केन्द्रीय सदस्यहरुको भेला भएको थियो।
भेलमा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली नसुध्रिने स्पष्ट भइसकेको बताएका थिए। उनको अभिव्यक्ति ओलीप्रति आक्रोशपूर्ण रहेको सहभागी एक नेताले बताए।
'हामीले यतिञ्जेल पार्टीमा सम्मानजनक एकता हुन्छ कि भनेर कुरेकै हो। ओली सुध्रिन्छन् कि भनेर पर्खिएकै हो। एकताको प्रयास गरेकै हो। तर, ओली सुध्रिएनन्। उनी नसुध्रिने प्रष्ट भइसक्यो', नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने।
नेपालले पार्टी विभाजन गर्ने भनेर स्पष्ट रुपमा नभनेको भए पनि त्यस्तो अवस्था आउन सक्ने बताएका थिए।
आजै दल विभाजनका लागि खुकुलो प्रावधान सहितको अध्यादेश ल्याउने तयारी भइरहेको बेलामा नेपालपक्ष छलफलमा जुटेको छ।
उता अध्यक्ष केपी शर्मा ओली पक्षले दल फुटाउने अध्यादेश ल्याइए प्रतिवाद गर्ने नर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।