काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूको बैठक सुरु भएको छ। बैठक बानेश्वरस्थित अर्याल होटलमा जारी छ।
बैठकस्थलमा सांसद तुलसा थापा पनि पुगेकी छन्। उनी प्रतिनिधि सभामा एमालेकी समानुपातिक सांसद हुन्। एमाले उपाध्यक्ष वामदेव गाैतम पत्नि थापा यसअघि ओली पक्षको बैठकमा सहभागी हुने गरेकी थिइन्।
बैठकस्थलमा पुगेपनि थापा बैठकमा सहभागी भने छैनन्। उनले आफू नेता नेपाललाई भेट्न आएको बताएकी छन्।
मंगलबार नै सिंहदरबारमा नेपाल पक्षका सांसद् र केन्द्रीय सदस्यहरुको भेला भएको थियो।
भेालमा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली नसुध्रिने स्पष्ट भइसकेको बताएका थिए। उनको अभिव्यक्ति ओलीप्रति आक्रोशपूर्ण रहेको सहभागी एक नेताले बताए।
'हामीले यतिञ्जेल पार्टीमा सम्मानजनक एकता हुन्छ कि भनेर कुरेकै हो। ओली सुध्रिन्छन् कि भनेर पर्खिएकै हो। एकताको प्रयास गरेकै हो। तर, ओली सुध्रिएनन्। उनी नसुध्रिने प्रष्ट भइसक्यो', नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने।
नेपालले पार्टी विभाजन गर्ने भनेर स्पष्ट रुपमा नभनेको भए पनि त्यस्तो अवस्था आउन सक्ने बताएका थिए।
आजै दल विभाजनका लागि खुकुलो प्रावधान सहितको अध्यादेश ल्याउने तयारी भइरहेको बेलामा नेपाल पक्ष छलफलमा जुटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।