काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नु विवेकसम्मत हुने बताएका छन्।
मंगलबार ट्वीट गर्दै नेता रावलले पार्टी कुनै व्यक्ति विशेषको नहुने र व्यक्ति विशेषका गल्ती-कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले नमान्ने उल्लेख गरेका छन्।
नेकपा एमाले विभाजित हुन लागेको चर्चा चलिरहँदा रावलले पार्टी कुनै व्यक्ति विशेषको नहुने उल्लेख गरेका हुन्।
प्रवृत्ति फेरिनु पर्छ! शीर्षकमा कविता सार्वजनिक गर्दै उनले व्यक्ति विशेषको तुष्टी नभएर सामूहिक भलाइ रोजिनु पर्ने उल्लेख गरेका छन्।
यस्तो छ कविता
प्रवृत्ति फेरिनु पर्छ !
-भीम रावल
पात्र मात्र फेरिदैमा हुँदैहुन्न, प्रवृत्ति फेरिनु पर्छ
मीठा शब्दजालहरूमा होइन, व्यवहारमा हेरिनु पर्छ,
स्वार्थहरूको परिभाषा राष्ट्रिय हितमा खोजिनु पर्छ
व्यक्ति विशेषको तुष्टी होइन, सामूहिक भलाइ रोजिनु पर्छ ।
विभाजित दल, समाज र देश होइन एकता जोगिनु पर्छ
पद, प्रतिष्ठा र अहंकारका पर्खालहरू सर्वत्र तोडिनु पर्छ,
विगतमा हिडेका पाइलाका डोबहरू गम्भीररुपमा खोजिनु पर्छ
आफ्नै सिर्जना र कोरेको बाटो ठण्डा दिमागले बुझिनु पर्छ।
मातृभूमिको चित्कार र पीडितहरूको क्रन्दन राम्ररी सुनिनु पर्छ
गरेका र गरिने कामहरुका परिणाम यथोचित गुनिनु पर्छ,
आवेग, इर्ष्या र बदलाको आगो जिम्मेवारीबोधले निभाइनु पर्छ
ध्वंश र विनाशको दिशा होइन, निर्माणको मार्ग समाइनु पर्छ।
सर्वदा कोही केही यहाँ, स्थायी हुन्न जान्नै पर्छ
देश ठूलो, जनता ठूला, यो सत्यलाई मान्नै पर्छ,
आज हुने काम कुराले पश्चाताप भोली नहोस्
समाजलाई र आफ्नैलागि गलपासो साबित नहोस् !
२०७८।५।१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।