काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै छ। दुवै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।
स्थायी कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजेका लागि बोलाइएको छ। स्थायी कमिटी बैठकलगत्तै संसदीय दलको बैठक नयाँ बानेश्वरमा बस्दै छ।
पार्टीका सबै नेतालाई बैठकमा उपस्थित हुन भनिएको बताउँदै नेता नेम्वाङले अजेन्डा भने बैठकमै तय हुने बताए। ‘बैठकमा सबै स्थायी कमिटी सदस्यलाई उपस्थित हुन आग्रह गरिएको छ,’ उनले भने, अजेण्डा तय भएको छैन, त्यहीँ गएपछि थाहा होला।’
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सोमबार राति सम्पन्न शीर्ष नेताहरूको अनौपचारिक छलफलले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो।
सरकारले संसद् अधिवेशन अन्त्य गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको निष्कर्ष निकाल्दै ओलीले आफूनिकट नेताहरूसँग छलफल गरेका हुन्।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएमा माधवकुमार नेपाल पक्षलाई सहज हुने र एमाले फुट्न सक्ने आकलन ओली पक्षले गरेको छ। अध्यादेश आएमा एमाले विभाजन हुने निष्कर्षका साथ आवश्यक रणनीति बनाउन ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको उनीनिकट एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।