काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन्। ओलीनिवास बालकोटमा एमाले स्थायी कमिटी सदस्यहरु जम्मा हुन थालेको एक नेताले बताए।
‘अध्यक्षज्यूले स्थायी कमिटीको आकस्मिक बैठक बोलाउनुभयो। सबै नेताहरु जम्मा हुन पाउनुभएन। नेताहरु आउँदै हुनुहुन्छ,’ ती नेताले भने, ‘आउनसक्ने सबै स्थायी कमिटी सदस्यहरु जम्मा भएपछि एक छिनमा बैठक बस्छ।’
सरकारले संसद्को चालु अधिवेशन अन्त्य गरेर दल विभाजन गर्न सहज हुने अध्यादेश ल्याउनसक्ने भएपछि ओलीले आकस्मिक बैठक बोलाएको बुझिएको छ। दल विभाजन सहज हुने अध्यादेश ल्याए एमाले त्यसको पहिलो शिकार हुनेछ। त्यस विषयमा छलफल गर्न बैठक बोलाएको हुनसक्ने ती नेताले बताए।
संसद् नभएको अवस्थामा अध्यादेशबाट दल विभाजन गर्नसक्ने धेरैले आकलन गरेका छन्। हाल दल विभाजन गर्न केन्द्रीय कमिटी र सांसद ४०/४० प्रतिशत पुर्याउनुपर्ने प्रावधान छ।
एमाले विभाजन गर्न वरिष्ठ नेता माधवकुमार नेपालपक्षले अहिलेको प्रावधान पूरा गर्न नसक्ने भएपछि अध्यादेशबाट संशोधन हुनसक्ने धेरैले आकलन गरेका छन्। एमालेमा नेपालपक्षको केन्द्रीय कमिटी ४० प्रतिशत पुगे पनि प्रतिनिधि सभामा पुग्न सकेको छैन। एमालेका १२१ सांसदमध्ये नेपालपक्षमा ३२ जना मात्रै खुलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।