काठमाडौं- नेपाली कांग्रेसका तीन समूहका युवा नेताहरु एकै स्थानमा भेला भएर छलफल गरेका छन्। संस्थापन र इतरपक्षका तेस्रो तहका नेताहरु एकत्रित भएर छलफलमा जुटेका हुन्।
नेता चन्द्र भण्डारीको संयोजनमा बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा युवा नेताहरुबीच छलफल भएको हो।
बैठकमा सहभागी संस्थापनपक्षका नेता एनपी साउदले भने, ‘आगामी महाधिवेशनलाई मुद्दामा आधारित बनाउने कुरामा छलफल भयो। मूल्य र कार्यक्रममा आधारित महाधिवेशन बनाउने विषयमा छलफल गर्यौं।’ मूलुकमा विविध खालका समस्या रहेका बेला महाधिवेशन कुन रुपमा सफल बनाउने भन्ने विषयमा नेताहरुबीच छलफल भएको उनले बताए।
युवाहरुको भूमिका महाधिवेशनमा बृहत् बनाउने सन्दर्भमा छलफल भएको साउदको भनाइ छ।
छलफलमा प्रवक्ता विश्वप्रकाश शर्मा, साउद, भीष्मराज आङदाम्बे, महेन्द्र यादव, सुरेन्द्रराज पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, सीता गुरुङलगायत संस्थापनपक्षबाट सहभागी थिए।
संस्थापनइतरका नेता भण्डारीको पहलमा भएको छलफलमा उक्त समूहबाट केन्द्रीय सदस्यहरू दीपक गिरी, धनराज गुरुङ, गगन थापा, रामकृष्ण यादव, गुरुराज घिमिरे, प्रदीप पौडेल, बद्री पाण्डे, कमला पन्त, कल्याण गुरुङ, किरण यादव, सरिता प्रसाईं, रत्ना शेरचनलगायत सहभागी थिए।
छलफल मंगलबार पुन: बस्ने गरी टुंगिएको नेता साउदले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।